हजयात्रीको शुल्क घटाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

२०७९ जेठ २१ शनिबार १५:३२:०० मा प्रकाशित

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणलाई नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै शनिबार ज्ञापनपत्र बुझाएको छ ।

सङ्गठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वमा गएको टोलीले शनिबार मन्त्री खाणलाई भेटी हज गर्न जाने हजयात्रीका लागि तोकिएको शुल्क घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको सङ्गठनका सचिव हलिम साहले जानकारी दिए । सरकारले साउदी अरबको मक्का मदिनामा हज गर्ने जाने हजयात्रीका लागि विगतभन्दा दोब्बर शुल्क तोकेको छ ।

यही जेठ १५ गते नेपाल हज कमिटीले सूचना जारी गर्दै मक्कामदिना जानका लागि हजयात्रीबाट चार लाख ६६ हजार ३९२ तोकिएकामा २०७६ सालमा दुई लाख २५ हजार शुल्क तोकिएको जनाएको छ । सङ्गठनका सचिव साहले मुस्लिम समुदायको आर्थिक अवस्था कमजोर हुँदा अहिले तोकिएको शुल्क तिरेर जाने अवस्था नरहेको हुँदा शुल्क घटाउन माग गरिएको बताए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री खाणले शुल्क घटाउने प्रतिबद्धता व्यक्त गरे । ज्ञापनपत्रमा विगतका वर्षमा झैँ यसपटक पनि हज गर्ने जाने यात्रीलाई आर्थिक अनुदान दिनुपर्ने, हजयात्रीलाई पैसा जम्मा गर्ने समयावधि जेठ ३० गतेसम्म राख्नुपर्ने, आर्थिक वर्ष २०७६/७७ मा हज गर्न जान भनी फारम भरी रकम जम्मा गरेका हजयात्रीलाई पहिलो प्राथमिकता दिनुपर्ने सचिव साहले जानकारी दिए ।

आगामी असार ७ गते हजयात्री हज गर्नका लागि मक्कामदिनामा जाने तयारीमा छन् । कोरोना भाइरसका कारणले २०७७/७८ सालमा हज गर्न बन्द गरिएको थियो । नेपालका लागि हजयात्रीका लागि एक हजार ५०० जनाको कोटा भए पनि कोरोना भाइरसका कारण ५५४ जनालाई मात्र सरकारले लैजाने भएको छ ।

नेपालबाट विसं २०२१ सालदेखि नै हज गर्नका लागि मुस्लिम समुदायका मानिस मक्कामदिना जाने गरेका थिए । सुरुवातीका बेला भारतको मुम्बईबाट समुद्रसहत हुँदै हजयात्री मक्कामदिना गरिएकामा विसं २०४७ सालदेखि हवाई मार्ग हुँदै गरिएको हो । पवित्र तीर्थस्थलका रुपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्ने गर्दछन् । मक्कामदिनामा गएर नमाज पढे र कुर्वानी दिए विगतमा गरिएका पाप कट्ने धार्मिक विश्वास रहेको छ ।

ताजा खबर