पुटिनलाई खाद्यान्न र मलको निर्यात सहज गराउन अफ्रिकन युनियनको आग्रह

२०७९ जेठ २१ शनिबार ११:५४:०० मा प्रकाशित

अफ्रिकज यूनियनका प्रमुखले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन–रुस युद्धका कारण अफ्रिकी देशहरू मारमा परेको गुनासो गरेका छन् । रुसमा भएको भेटवार्तामा उनले निर्दोष अफ्रिकी देशहरू युद्धबाट पीडित भएको गुनासो गर्दै सङ्कट अन्त्य गर्न सहजीकरण गर्न आग्रह गरेका थिए । रुसको सोचीमा भएको भेटमा रुसी नेताले अन्न र मलको निर्यात सहज बनाउने वाचा गरे पनि त्यसबारे विस्तृत जानकारी नदिएको भेटपछि पछि मकी सलले जानकारी दिए ।

मस्कोले युक्रेनी बन्दरगाहबाट अन्नको निर्यातमा रोक लगाएको कुरा पुटिनले अस्वीकार गरेका थिए । अफ्रिकामा खपत हुने गहुँको ४० प्रतिशत आयात रुस र युक्रेनबाट हुने गरेको छ । तर युद्ध सुरु भएयता ब्ल्याक सी क्षेत्रमा रहेका युक्रेनी बन्दरगाहबाट हुने अधिकांश निर्यात ठप्प छ। किएभ र उसका साझेदारहरूले बन्दरगाहमा मस्कोले रोक लगाएको आरोप लगाएका छन् ।

अन्नको अभावका कारण एक अर्ब ४० करोड मानिसहरूलाई प्रभावित हुन सक्ने भन्दै उनले यसले ठूलो सङ्ख्यामा बसाइँसराइ निम्त्याउने बताए । राम्रो उत्पादन नहुँदा तथा असुरक्षाका कारण अफ्रिकामा खाद्यान्न अभाव विद्यमान छ। युद्धले त्यहाँको अवस्थालाई अझ बिगारिदिएको छ ।

रुसले एकसय दिनअघि युक्रेनमा युद्ध सुरु गरेयता अफ्रिकी महादेशमा खाद्यान्नको मूल्य अकासिएको छ। त्यहाँ धेरै मानिस भोकमरीबाट पीडित छन् । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमका प्रमुख माइक डन्फर्डले गत वर्ष खानेकुराको अभाव झेलिरहेका मानिसहरूको सङ्ख्या पाँच करोड रहेकोमा यो वर्ष आठ करोड बढी मानिसहरू भोकमरीको समस्यामा रहेको बताए।

ताजा खबर