फोहोर विसर्जनमा अवरोध नहोस्, सिसडोललाई एकसाता भित्र दूर्गन्धमुक्त बनाउछौंः बालेन साह

२०७९ जेठ २० शुक्रबार १४:४२:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एकसाता भित्र दूर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् ।

उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्न पुगेका मेयर साहले स्थानीयको गुनासो सुनेपछि केमिकल हालेर एकसाताभित्र त्यहाँ दूर्गन्ध हटाउने आश्वासन दिएका हुन् । त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको उनले बताए ।

मेयर साहले ती महिना भित्र मल र ग्याँस दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत जनाएका छन् । उनले भने, ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्याँस पनि बनाइन्छ । त्यसका लागि ३ महिना लाग्छ । केमिकल हालिसकेपछि एक हप्ता भित्र गन्ध हटाईन्छ ।’

उनले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने बताए । स्थानीयको सबै समस्या समाधान हुने तर फोहोर विसर्जन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उनको भनाई थियो । स्थानीयले भने आफूहरुको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए ।


 

ताजा खबर