मूल्यबृद्धि तत्काल नियन्त्रण गर्न सरकारसँग भुसालको माग

२०७९ जेठ २० शुक्रबार १३:२७:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिव जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा भाग लिँदै सचेतक भुसालले रुस–युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्यवृद्धिको मारमा परेको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताइन् ।

उनले आयातित बस्तुहरुको प्रतिस्थापन नगरी मूल्य वृद्धिको समस्या समाधान गर्न नसकिने भएकाले सरकारले यस दिशामा पनि आफूलाई अगाडि बढाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘मूल्यवृद्धिबारे म नेपालका सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । सबैभन्दा पहिला म नेपाल सरकारलाई धन्यवाद पनि दिन चाहन्छु–हिजो १० रुपैयाँ कर घटाएको जुन निर्णय भएको छ । त्यसलाई सकारात्मक रुपमा लिएको छु । त्यसलाई म धन्यवाद पनि दिन चाहन्छु । र यो घटाउने क्रमलाई निरन्तरता दिइयोस भनेर पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । अन्तर्राष्ट्रिय अर्थतन्त्रको मन्दी, रुस र युक्रेनको युद्धको कारणले महंगीको मारमा नेपाली जनता परेका हुन् । गरिव जनताले यसको मार व्यहोर्नुपर्ने भएकाले यसमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्दछ ।’

सचेतक भुसालले मूल्यवृद्धिबारे अध्ययन गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल नेतृत्वको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई आग्रह गरिन् ।

 

ताजा खबर