अमेरिकामा हतियार किन्ने उमेर बढाउन बाइडनको आह्वान

२०७९ जेठ २० शुक्रबार ०९:१७:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडनले बन्दुकका कारण हुने हिंसा रोक्नका लागि घातक खालका अस्त्रहरू र उच्च क्षमताका म्यागजिनहरूमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिकामा दैनिक धेरै स्थलहरू हत्या गर्ने क्षेत्र बनिरहेको बताए ।

अमेरिकी कङ्ग्रेसले त्यस्ता हातहतियारलाई गैरकानुनी बनाउन नसके ती हतियार खरिद गर्ने उमेर १८ बाट २१ वर्ष पुर्याउनुपर्ने बाइडनको भनाइ छ । देशमा भएका श्रृङ्खलाबद्ध गोलीकाण्डहरूपछि राष्ट्रपति बाइडनको उक्त भनाइ आएको हो । ह्वाइट हाउसबाट बोल्दै उनले बन्दुक खरिदकर्ताहरूको पृष्ठभूमि जाँचलाई ख्याल गर्न आह्वान गरेका छन् ।

त्यस्तै देशव्यापी रूपमा ’रेड फ्ल्याग ल’ को विस्तारमा पनि उनले जोड दिए । त्यस्तो कानुनले कुनै पनि हतियारधारी व्यक्तिद्वारा अरुमाथि वा आफैँमाथि पनि खतरा भएको ठानिएमा त्यस्ता व्यक्तिसँगको हतियार उसबाट खोस्ने आदेश दिन अदालतहरूलाई अनुमति दिन्छ ।

उनले खतरनाक र धेरै क्षमताका बन्दुकहरू सामान्य मानिसलाई आवश्यक नपर्नेतर्फ सङ्केत गरेका छन्। अमेरिकाका बफेलो, न्यूयोर्क, टेक्सस, ओक्लाहोमा लगायतका क्षेत्रमा हालैका दिनमा भएका गोलीकाण्डको पृष्ठभूमिमा बाइडनले उक्त आह्वान गरेका हुन् ।

ताजा खबर