रुसद्वारा युक्रेनको २० प्रतिशत भूभाग नियन्त्रण

२०७९ जेठ १९ बिहीबार २१:०७:०० मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भूभाग रुसी फौजहरूको नियन्त्रणमा पुगेको बताएका छन् । जेलेन्स्कीका अनुसार त्यो बेल्जियम, लक्जम्बर्ग र द नेदरल्याण्ड्सको कुल क्षेत्रफलभन्दा धेरै हो ।

लक्जम्बर्गको संसद्लाई सम्बोधन गर्दै जेलेन्स्कीले लगभग १ लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र यतिखेर मस्कोको हातमा पुगेको बताएका हुन् । त्यसमा सन् २०१४ मै रुसको बलमा लडेका फौजहरूले कब्जा गरेका क्राइमिया र पूर्वी युक्रेनका केही भागको समेत गणना गरिएको छ । जुन युक्रेनी भूभागको ७ प्रतिशतजति हुन आउँछ ।

पूर्वी युक्रेनमा रुसी सेनाले सबै दिशाबाट युक्रेनी प्रतिरक्षा तोड्ने प्रयास गरिरहेको लुहान्स्कका नेता सेर्हेई हाइडाईले बताएका छन् । यतिखेर सेभेरोडोनेट्स्क शहरमा लडाइँ तीव्र भएको छ जसको धेरैजसो भाग यतिखेर रुसी फौजको नियन्त्रणमा पुगेको छ ।

सेभेरोडोनेट्स्क कब्जा गर्नु गर्नेको लुहान्स्कको लगभग सबैजसो भागमा नियन्त्रण कायम गर्न सक्नु हो । जुन अझ ठूलो डोनबास क्षेत्र कब्जा गर्ने मस्कोको प्रयासको एउटा पाटो हो । यदि रुसी फौजले डोनबास कब्जा गर्न सके भने राष्ट्रपति पुटिनले युद्ध जितेको दाबी गर्न सक्ने ठानिएको छ।

ताजा खबर