प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न राप्रपाको माग

२०७९ जेठ १९ बिहीबार १५:५९:०० मा प्रकाशित

काभे । राष्ट्रिय प्रजातन्त्र पार्टीले अभिभावक संस्थाको रुपमा राजा रहने गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय व्यवस्था हुनुपर्ने माग गरेको छ ।

काभ्रेको धुलिखेलमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्ण समानुपातिक संसद्, केन्द्र र बलियो स्थानीय तहसहित दुई तहको संघीयता हुनुपर्ने पक्षमा राप्रपा रहेको बताए ।

प्रधानमन्त्री हुन सांसदको किनबेच हुने स्थितिको अन्त्य गर्न जनताद्वारा निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद्को पक्षमा उभिएको उनले बताए । उनले आगामी निर्वाचनमा यो कुरा उठाएर आफूहरु जनतामाझ जाने बताए ।

स्थानीय तह निर्वाचनको समीक्षा गर्न आयोजित बैठकमा राप्रपाले सत्ताको दुरुपयोग, सत्ता पक्ष र प्रतिपक्षका दुई ठूला गठबन्धन र महाधिवेशनलगत्तै स्थानीय तहको निर्वाचन भएकाले निर्वाचनमा अपेक्षाकृत परिणाम नआएको निष्कर्ष निकालेको छ । निर्वाचनपछि नयाँ शक्तिको रुपमा उदाएको दाबी गर्दै राप्रपाले निरुत्साहित हुनुपर्ने अवस्था नरहेको तर्क गरेको छ ।

 

 

ताजा खबर