युक्रेनलाई रकेट प्रणाली दिएर अमेरिकाले आगोमा घ्यू थपेको रुसको आरोप

२०७९ जेठ १९ बिहीबार ०८:२५:०० मा प्रकाशित

युक्रेनलाई थप परिष्कृत रकेट प्रणालीहरू दिने अमेरिकाको निर्णयलाई रुसले आगोमा घ्यू खन्याएको सरह भन्ने आरोप लगाएको छ । अमेरिकाले दिन लागेका ती अस्त्रहरू मस्कोसँग भएका भन्दा अत्याधुनिक हुन् । क्रेम्लिनका प्रवक्ता दिमित्री पेश्कोफले ती अस्त्रहरू रुसभित्र लक्षित नगरिने भन्ने किएभको बाचालाई अस्वीकार गरेका छन् ।

तर उनले त्यस्तो हकमा मस्कोले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुरा चाहिँ खुलाएनन् । लामो समयदेखि युक्रेनले माग गरिरहेको ती अस्त्रमार्फत् परैबाट शत्रु पक्षलाई स्पष्ट लक्ष्य तय गरेर प्रहार गर्न सकिन्छ । नयाँ रकेट प्रणाली युक्रेनलाई हाल दिइएका अस्त्रभन्दा निकै लामो दुरीसम्म प्रहार गर्न सक्ने क्षमताका छन् ।

अहिलेसम्म अमेरिकाले त्यस्ता अस्त्रहरू रुसभित्रका निशानामा प्रहार गर्न प्रयोग हुनसक्ने भयले युक्रेनलाई दिन अस्वीकार गर्दै आएको थियो । बाइडनले उक्त अस्त्र प्रणाली उपलब्ध गराउने पुष्टि गरेपछि रुसले परमाणु क्षेप्यास्त्र चलाउने फौजको अभ्यास थालेको घोषणा गरेको छ।

तर बुधबार बाइडनले घातक सहायताले युक्रेनलाई रुससँग वार्तामा अडान राख्ने क्षमता बढाउने र कूटनीतिक समाधान सम्भव बनाउने बताएका छन् । छुट्टै विकासक्रमबीच जर्मन सरकारले युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली पठाउने बाचा गरेको छ । चान्सलर ओलाफ सोल्जले सांसदहरूलाई आईआरआईएस–टी भनिने उक्त आधुनिक प्रणालीले युक्रेनको एउटा पूरै शहरलाई रूसी हवाई हमलाबाट प्रतिरक्षा गर्न सक्षम बनाउने बताए ।

ताजा खबर