मानहानि मुद्दामा हलीउड अभिनेता जोनी डेपको जित

२०७९ जेठ १९ बिहीबार ०८:२०:०० मा प्रकाशित

हलीउड अभिनेता जोनी डेपले आफ्नी पूर्वपत्नी एम्बर हर्डविरुद्ध मानहानिको मुद्दा जितेका छन् । ६ साता लामो सुनुवाइका क्रममा ती दुई हलीउड स्टारले एक अर्कामाथि शारीरिक तथा भावनात्मक दुर्व्यवहारका नराम्रा खाले आरोपहरू लगाएका थिए ।

एउटा अमेरिकी अदालतको जुरीले जोनी डेपले आफ्नो मानहानि भएकोमा क्षतिपूर्तिका लागि एक करोड ५० लाख डलर रकम पाउने आदेश दिएको छ । ५८ वर्षीय डेपविरुद्ध उनकी ३६ वर्षीया पूर्वपत्नी हर्डले विभिन्न तीनवटा मुद्दा लगाएकी थिइन्।

त्यसमध्ये दुईवटामा अदालतले डेपलाई सफाइ दिएको छ । तेस्रो मामिलामा भने उनले आफ्ना वकिलका माध्यमबाट पूर्वपत्नीको मानहानि गरेको ठहर गर्दै हर्डलाई २० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । सुनुवाइका क्रममा सन् २०१७ मा सम्बन्धविच्छेद भएका उनीहरूले आफूहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहेको थियो भन्ने खुलाएका थिए ।

कतिपय सर्वेक्षणका अनुसार अधिकांश अमेरिकीहरूले युक्रेन युद्ध वा अमेरिकी सर्वोच्च अदालतबाट कुनै पनि दिन आउन सक्ने गर्भपतनसम्बन्धी निर्णयभन्दा ती दम्पतीबारे अदालतमा चलेको जुहारीमा चासो राखेका थिए ।

अदालतले हर्डले आफ्ना पूर्वपतिविरुद्ध अखबारी लेखमा लगाएका आरोपहरू गलत रहेको पत्ता लगाएको थियो । उसले हर्डले आफ्न पूर्वपतिविरुद्ध द्वेषपूर्ण व्यवहार गरेको भन्ने ठहर गरेको छ । जोनी डेपले अदालतको आदेशलाई स्वागत गर्दै जुरीले आफ्नो जीवन फिर्ता दिएको बताएका छन् ।
 

ताजा खबर