प्रधानमन्त्री देउवा र ओलीसँगको भेटबारे मेयर बालेनले दिए यस्तो प्रष्टीकरण

२०७९ जेठ १८ बुधबार २२:४४:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको प्रेरणाले आफूलाई थप उर्जावान बनाएको बताएका छन् ।

बुधबार राति सामाजिक संजालमार्फत मेयर साहले प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष ओलीसँगको भेटबारे प्रष्टीकरण दिँदै यस्तो बताएका हुन् । उनले उहाँहरुसँगको भेटलाई अन्यथा नलिइदिन अपील समेत गरेका छन् ।

उनले भनेका छन्, ‘काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौं । यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरू भएर निकै पछिसम्म पनि रहिरहने छ। समय अनुकूलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ। यसलाई अन्यथा नबुझिदिन अपील गर्दछौं।’ उनले स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह वा नेताप्रति निरपेक्ष रहनु पनि हुने बताए ।

उनले भने, ‘राजनीतिक रूपमा हामीलाई यो अभियानमा केही सजिलो पनि छ। किनकि स्वतन्त्र हुनुको अर्थ केबल चुनावमा उम्मेदवारी दिँदा मात्रै रहँदैन । स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ। सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ।’

मेयर साहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेका थिए भने मतगणना भइरहँदा उनले बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए।

ताजा खबर