अरु संसदवादी पार्टी र माओवादीबीचको अन्तर मेटिँदै गयोः प्रचण्ड

२०७९ जेठ १८ बुधबार १४:२३:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पहिचान हराउन खोजिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूहरुको पार्टीमा पहिचानको संकट देखिन थालेको बताएका हुन् ।

उनले भने,‘पार्टीभित्र तीव्र गतिमा व्यक्तिवादी, व्यक्तिगत स्वार्थमा केन्द्रित हुने हुन् कि भनेर जनताले सोचिरहेका छन्। माओवादीप्रतिको माया, मोह र भरोसा टुटेको छैन तर जनताले अरु पार्टी जस्तै हुँदैछन् कि भनेर सोचिरहेका छन्।’ उनले एकपटक जनताले ठूलो पार्टी बनाएर पठाएको भन्दै जनताको अपेक्षा अनुसार काम गर्न नसकेका कारणले नै फेरि खुम्चिनु परेको बताए ।

अरु संसदवादी पार्टी र माओवादीबीचको अन्तर मेटिँदै गएको भन्दै उनले माओवादीका प्रतिनिधि अझ खराब हौं कि भन्ने जनतालाई पर्न थालेको बताए । उनले भने, ‘हिजो त हामीसँग जनमुक्ति सेना, जनयुद्ध, जनसरकार सबै थियो। अहिले त ती सबै छैनन् । अब भनेको तपाईंहरू सबै जनप्रतिनिधिहरु हो। तपाईंहरूमा नै माओवादीको अनुहार देखिन्छ।’ उनले काठमाडौं र धरानको मेयरमा स्वतन्त्र उम्मेदवारको जित माओवादीलाई सबक भएको बताए ।

प्रचण्डले काठमाडौं महानगर र धरान उपमहानगरको मेयरमा जितेका उम्मेदवारले माओवादीले जस्तै धारा, पानी, फोहोरको मुद्दा उठाएर जितेको बताए । उनले भने, ‘हामीले राम्रासँग काम गरेको नदेखेपछि जनताले हामीलाई सबक सिकाएको जस्तो लाग्छ ।’ उनले जनताले मुलुकको राजनीतिको चाबी आफ्नो पार्टीको हातमा राखिदिएको बताए । उनले स्थानीय तह निर्वाचनमा तेस्रो राजनीतिक शक्ति बनाएर जनताले शंका पनि व्यक्त गरेको र आशा पनि राखेको बताए ।

उनले भने, ’हाम्रो पार्टीप्रति जनताको मोहभंग भइसकेको स्थिति छैन । तर यिनीहरू पनि विचलित हुने हुन् कि भन्ने चिन्ता जनतामा छ ।’ माओवादी केन्द्रको केन्द्रीय कार्यालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिलाई अध्यक्ष पुष्पकलम दाहाल, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पूर्वमुख्यसचिव लिलामणि पोखरेल, गिरिरराजमणि पोखरेल, मुक्ति प्रधान, खिमलाल देवकोटा, उर्मिला अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाल, चन्द्रकान्त भण्डारी, मीनबहादुर श्रेष्ठलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।

 

ताजा खबर