पाकिस्तानका प्रधानमन्त्री टर्की भ्रमणमा

२०७९ जेठ १८ बुधबार १३:४१:०० मा प्रकाशित

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ तीन दिने औपचारिक भ्रमणका लागि टर्की पुगेका छन् । पाकिस्तानी उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी मङ्गलबार टर्कीको अंकरा पुगेका हुन् ।

पाकिस्तानका प्रधानमन्त्री सरिफलाई टर्कीका रक्षा मन्त्री हुलुसी अकरले अंकरा विमानस्थलमा स्वागत गरेका थिए । पाकिस्तानी प्रतिनिधि मण्डलमा रक्षा मन्त्री खावाज मोहम्मद असिफ, सूचना तथा प्रसारण मन्त्री मरियुम औराङजब, लगानी मन्त्री चौधरी सालिक हसन र प्रधानमन्त्रीका विषेश सहयोगी तारिक फतेमी र फहद हसन छन् ।

विदेश मन्त्री बिलावाल भुट्टो जर्दारी भने सोमबार नै टर्की पुगेका थिए । उनी पनि प्रतिनिधि मण्डलमा सहभागी भएका छन् । टोलीले बुधबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेको छ ।

भेटवार्ताका क्रममा पाकिस्तान— टर्की सम्बन्धलाई थप बलियो बनाउने, आपसी सहकार्यका नयाँ ढोका खोल्ने, विगतमा हुँदै आएका सहकार्यलाई थप प्रभावकारी र दिगो बनाउने लगायतका विषयमा छलफल भएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा पनि सकेसम्म समान धारणा बनाउने र एकै ठाउँमा रहेर भूमिका खेल्ने बारेमा पनि कुराकानी भएको जनाइएको छ

ताजा खबर