बलिउडका चर्चित गायक केकेको निधन

२०७९ जेठ १८ बुधबार ०८:३७:०० मा प्रकाशित

काठमाडौँ । बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नथको मंगलबार राति कोलकातामा निधन भएको छ ।स्टेजमा ’केके’ का नामले परिचित उनी मंगलबार कोलकाताको एउटा कलेजको कार्यक्रममा प्रस्तुति दिने क्रममा नै बिरामी भएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार कन्सर्टलगत्तै उनी होटेल फर्किएका थिए । होटेलमा उनी ढलेको र लगत्तै अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेको बीबीसी हिन्दीले जनाएको छ ।

अस्पताल पुगेका पश्चिम बंगाल सरकारका ऊर्जामन्त्री अरुप विश्वासका अनुसार चिकित्सकहरूले केकेको निधन हृदयघातबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् । तमिल, तेलुगु, कन्नड, मराठी, बांग्ला र गुजराती चलचित्रमा थुप्रै गीत गाएका केके कोलकातास्थित गुरुदास कलेजको कार्यक्रममा भाग लिन आएका थिए ।

ताजा खबर