बजेट सत्ता गठबन्धनको चुनावी घोषणापत्र जस्तो भएको पूर्वअर्थमन्त्री पौडेलको टिप्पणी

२०७९ जेठ १७ मंगलबार १२:०६:०० मा प्रकाशित

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा एमाले सांसद विष्णु पौडेलले सरकारले ल्याएको बजेट सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्रजस्तो भएको टिप्पणी गरेका छन् । सरकारले संसद्मा पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययमाथिको छलफलमा सहभागी हुँदै पौडेलले यो बजेट नभएर सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र जस्तो भएको बताका हुन् ।

उनले सरकारले सस्तो लोकप्रियताका लागि बजेट ल्याएको बताए । उनेले भने,‘चुनावलाई प्रभावित पारेर भोट बटुल्न ल्याइएको जस्तो छ। राज्यको स्रोतलाई आफ्ना मतदाता रिझाउने काम भएको छ।’

उनले चुनावी सरकारले आउँदो सरकारलाई बोकी नसक्ने गरी आर्थिक दायित्व सिर्जना गरेको आरोप लगाए । पौडेलले पाँच महिनाको चुनावी सरकारले पूर्ण अवधिको सरकारले जसरी बजेट प्रस्तुत गरेको बताए । उनले बजेटमा अर्थतन्त्रको चुनौतीलाई वेवास्ता गरिएको टिप्पणी गरे। उनले निबन्ध रुपी बजेटले कुनै डेलिभरी दिन नसक्ने बताए ।

उनले यो बजेट गोश्वारा भाषामा लेखिएको निवेदन जस्तो भएको भन्दै व्यङ्गयसमेत गरे । सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य समेत आधारहीन र असम्भव भएको पौडेलले बताए । बजेट र नीति तथा कार्यक्रम हेर्दा आर्थिक वृद्धिदरको लक्ष्य यथार्थपरक र सम्भाव्य हुनुपर्नेमा सरकारले क्षमताभन्दा बाहिर गएर लक्ष्य निर्धारण गरेको उनको भनाइ थियो ।

उनले भने,‘यो सरकारले तय गरेको ८ प्रतिशतको आर्थिक वृद्धि आधारहीन र असम्भव देखिन्छ । अहिलेसम्म देशमा ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर भएको छैन ।’ यसैगरी, दक्षिण एसियाली मुलुकहरूको आर्थिक वृद्धिदर पनि ५ प्रतिशतभन्दा माथि नजाने विश्व बैंक लगायत निकायहरूले प्रक्षेपण गरेका छन् । नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियाभन्दा माथि जान नसक्ने उनको भनाइ छ ।

 

 

ताजा खबर