युरोपेली राष्ट्रहरू रुसी तेल आयातमा रोक लगाउन सहमत

२०७९ जेठ १७ मंगलबार ०९:१८:०० मा प्रकाशित

युरोपेली सङ्घका नेताहरू रुसी तेल आयातको दुई तिहाइभन्दा बढीमा रोक लगाउने एउटा योजनामा सहमत भएका छन् । अब यो वर्षको अन्त्यसम्ममा ईयूले लगभग ९० प्रतिशत रुसी तेल आयातलाई कटौती गर्नेछ ।

युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले यो सम्झौताले रूसी युद्ध औजारका लागि ठूलो वित्तीय स्रोत बन्द गरेको बताएका छन् । प्रतिबन्ध ब्रसेल्समा भएको शिखर सम्मेलनमा अनुमोदन गरिएको प्रतिबन्धको छैटौँ प्याकेजको हिस्सा हो ।

त्यसमा सबै २७ सदस्य राष्ट्रले सहमति जनाएका थिए । मिशेलका अनुसार ईयूले रुसको सबैभन्दा ठूलो बैंक र राज्यको स्वामित्वमा रहेका तीनवटा प्रसारकहरूलाई लक्षित गर्दै कडा प्रतिबन्धात्मक उपायहरू अपनाउने कुरालाई पनि स्वीकार गरेको छ ।

ईयू सदस्य राष्ट्रहरूले रूसी तेल आयात प्रतिबन्धसम्बन्धी आफ्नो मतभेद अन्त्यका लागि कैयौँ घण्टासम्म सङ्घर्षपूर्ण वार्ताहरू गरेका थिए । युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन्देर लायनले सम्झौतामा पुग्ने अपेक्षा कम रहेको बताएकी थिइन् ।

विशेषगरी उक्त प्रतिबन्धमा हङ्गेरीले मुख्य रूपमा असहमति जनाएको थियो । रुसी तेल आयातमा प्रतिबन्धको प्रस्ताव सुरुमा एक महिनाअघि युरोपेली आयोगले गरेको थियो । आयोगले सदस्य राष्ट्रहरूका लागि कानुनहरू बनाउने गर्छ।

ताजा खबर