यसरी मुस्ताङबाट काठमाडौं ल्याइयो तारा एयरको दुर्घटनाग्रस्त जहाजका यात्रुको शव

२०७९ जेठ १६ सोमबार १९:३७:०० मा प्रकाशित

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव सोमबार साँझ काठमाडौँ ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव साँझ काठमाडौँमा ल्याइएको हो ।

प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार १० जनाको शव बोकेर नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर अहिले काठमाडौँ आइपुगेको र ती शवहरु अस्पतालतर्फ पठाइएको छ । शवको उद्धार तथा आवश्यक व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपानेसहितको टोली बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रमा खटिइरहेका थिए ।

मन्त्री आलेले हवाई दुर्घटनामा परी मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनाबाट भएको ठूलो मानवीय क्षतिले आफू मर्माहत भएको बताए । उनले दुर्घटनामा परी ज्यान गुमाएका चालक दलका सदस्य एवं यात्रुमा श्रद्धाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् ।

हवाई दुर्घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति पुर्याएको उल्लेख गर्दै उनले दुर्घटनालाई न्यूनीकरण गरेर हवाई यात्रालाई सुरक्षित बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । मन्त्री आलेको निर्देशनमा मन्त्रालयले विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोगसमेत गठन गरेको छ ।

मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

भेटिएका शव सनाखत गर्न बाँकी छ । समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको बताइएको छ । भेटिएका २१ शवमध्ये ११ वटा शव घटनास्थलमै रहेको र मौसममा सुधार आएपछि सम्भवतः भोलि सोमबार पोखरा ल्याइने तर त्यहाँबाट काठमाडौँ ल्याइने उद्धार टोलीले जनाएको छ । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा आज बिहान भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए ।

पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीनजना सदस्य, १२ जना नेपाली, चारजना भारतीय र दुईजना जर्मनी नागरिकसहित २२ जना सवार रहेका थिए ।

ताजा खबर