श्रम मन्त्रालयको पुनःएकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान

२०७९ जेठ १६ सोमबार १९:२८:०० मा प्रकाशित

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपालस्थित देशीय निर्देशक सुङहुन कोबीच सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा उनीहरुबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया गई फर्किएका नेपालीका लागि सञ्चालन हुने परियोजनाका साथै नेपाल र दक्षिण कोरिया सरकारबीचको सम्भावित साझेदारीका विषयमा विचारविमर्श भएको थियो । परियोजनामा (कोइका) ले आठ मिलियन अमेरिकी डलर (करिब ९६ करोड) सहयोग प्रदान गरेकामा मन्त्री श्रेष्ठले धन्यवाद ज्ञापन गरे ।

कोइकाले उपलब्ध गराएको उक्त रकम सम्बद्ध सरकारी निकायको क्षमता अभिवृद्धि, पुनः एकीकरणसम्बन्धी सूचनामा पहुँच, कोरियाबाट फर्केर आएका नेपालीको उद्यमशीलतासम्बन्धी क्षमता अभिवृद्धि र वित्तीय पहुँचमा खर्च हुनेछ । उक्त रकम नेपाल सरकारको बजेट प्रणालीमा आबद्ध भई सञ्चालन हुनेछ । कोरियामा ६५ हजारभन्दा बढी नेपाली श्रमिक इपिएसमार्फत गएका छन् ।

उनीहरू स्वदेश फर्किएपछि पुनः एकीकरण र सीपमूलक तालिमका लागि कोइकाले सहयोग उपलब्ध गराएको हो । मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षमा सातवटै प्रदेशमा सीप विकास तालिम प्रतिष्ठान सञ्चालन गर्ने सरकारको योजना रहेको बताउँदै कोरिया सरकारसँग सहकार्यका लागि इच्छुक रहेको उल्लेख गरेको मन्त्रालयले जनाएको छ । दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत रोजगारीबाट करार अवधि सकिएर फर्किएका कामदारलाई पुनः एकीकरण तालिम सञ्चालन गर्न गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा पूर्वाधार निर्माण गर्नेछ ।

ताजा खबर