ब्राजिलमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

२०७९ जेठ १६ सोमबार १३:५०:०० मा प्रकाशित

ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । व्यापक वर्षाका कारण आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको र अझै बेपत्ता हुनेको सङ्ख्या ५६ रहेको आइतबार स्थानीय अधिकारीले जानकारी दिएका छन् । बाढी र पहिरोबाट प्रभावित व्यक्तिको उद्धारमा करिब चार हजार उद्धारकर्मी खटाइएको छ ।

उत्तरपूर्वी पर्नाम्बुको राज्यको राजधानी रेसिफ शहर सबैभन्दा बढी प्रभावित भएको छ । उक्त सहरमा मात्र ३० भन्दा बढी मानिसको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

छिमेकी राज्य अलागोसमा बाढीका कारण दुई जनाको मृत्यु भएको र करिब सात हजार विस्थापित भएको जनाइएको छ भने अन्य छिमेकी राज्यहरूमा पनि अविरल बर्षाका कारण आएको बाढी तथा पहिरोले जनजीवन प्रभावित बनाएको छ । पर्नाम्बुको नौ नगरपालिकामा स्थानीय तहले आपतकालीन अवस्था को घोषणा गरेको छ ।
 

ताजा खबर