दुर्घटनाग्रस्त अवस्थमा भेटियो सम्पर्कविहीन तारा एयरको जहाज

२०७९ जेठ १६ सोमबार ०८:३३:०० मा प्रकाशित

म्याग्दी । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा सोमबार बिहान भेटिएको छ ।

थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका यार्सागुम्बा खोज्न गएका सुमित गौचनले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएको जानकारी दिए ।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा टाढाबाट जहाज देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको टोली त्यसतर्फ लागेको गाउँपालिकाका अध्यक्ष गौचनले बताए ।

कोवाङदेखि दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेर राति त्यहाँ बसेका करिब १०० नेपाली सेना सहितको सुरक्षाकर्मीको टोली आज बिहानै मानापाथी हिमाल आसपासको क्षेत्रतर्फ प्रस्थान गरेका जनाइएको छ ।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतबार बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । हराएको जहाजमा चालक दलका तीन जना र १९ जना यात्रु रहेका जनाइएको छ ।

 

ताजा खबर