एक वर्षभित्र मूलपानी क्रिकेट मैदान निर्माण सम्पन गरिने

२०७९ जेठ १५ आइतबार १९:५१:०० मा प्रकाशित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानको निर्माणकार्र्य सम्पन्न गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले आगामी आर्थिक वर्षमा मूलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने बताएका हुन् ।

उनले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल खेलाउनका लागि आवश्यक रकम विनियोजन गरेको बताए । त्यस्तै चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सम्पन्न गर्न प्रदेश र स्थानीय सरकारको समन्वयमा पूरा गर्ने अर्थमन्त्री शर्माले उल्लेख गरे । धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार क्रिकेट रङ्गशाला तथा खेलग्रामको निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ । कोहलपुर मैदानका लागि पनि बजेट विनियोजन गरिएको छ ।

यसैगरी सरकारले विदेशी क्लबलाई नेपालमा फ्रेन्चाइज लिग खेल्न अनुकूल वातावरण निर्माण गरिने बताएको छ भने निजी क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहित गरिनेछ । गण्डकी प्रदेशमा आगामी असोज २८ गतेदेखि कत्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने बजेट विनियोजन गरिएको छ भने कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणमा पनि बजेट विनियोजन गरिएको छ ।

सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई दुई अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले खेलकुद मन्त्रालयलाई दुई अर्ब ७४ करोड बजेट विनियोजन गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । त्यस्तै सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई दुई अर्ब नौ करोड बजेट विनियोजन गरेको छ । खेल पूर्वाधारमा ८७ करोड बजेटको विनियोजन गरिएको छ ।

सरकारले खेलकुद पर्यटनको प्रवद्र्धनका लागि सार्वजनिक निजी साझेदारीमा साहसिक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न प्रोत्साहित गर्ने भएको छ । जुम्ला जिल्लाको कोप्लापाटनलगायत स्थानमा हाइअल्टिच्युड स्पोर्टस् एण्ड टेर्निङ सेन्टर स्थापना गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।

सरकारले स्थानीय तह खेलग्राम कार्यक्रमलाई निरन्तरता दिँदै बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण र रङ्गशालाका लागि आवश्यक बजेट विनियोजन गरेको बताएको छ । सरकारले खेलकुद सङ्घको संस्थागत क्षमता विकास गरी खेलकुद प्रतियोगिता आयोजनामा खेल सङ्घको भूमिका प्रभावकारी बनाइने उल्लेख गर्दै खेल सङ्घलाई दिँदै आएको अनुदानलाई वृद्धि गरिएको छ ।

सरकारले खेलाडी र प्रशिक्षकको क्षमतालाई अभिवृद्धि गर्दै खेलाडीलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिएको बताएको छ । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीको बिमा गरिने व्यवस्था बजेटमा मिलाएको छ ।

महोत्तरीको मटियानी, चितवनको कठार, पूर्वी नवरपरासीको मध्यविन्दुमा स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना गरिने उल्लेख गरेको छ । एसियाली र ओलम्पिक खेलमा पदक विजेता खेलाडीलाई आजीवन भत्ताको व्यवस्था बजेटमा गरिएको छ ।
 

ताजा खबर