न्यायालयको अवस्था सुधारोन्मुखः कामु प्रधानन्यायाधीश कार्की

२०७९ जेठ १५ आइतबार १५:२२:०० मा प्रकाशित

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताएका छन् । आइतबार नेपाल कानून व्यवसायी परिषदले आयोजना गरेको तालिम उद्घाटन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायालयको अवस्थामा पहिले भन्दा सुधार भएको बताएका हुन् ।

उनले आफूले सर्वोच्च अदालतको नेतृत्व लिएपछि मुद्दाको फस्र्योट बढेको बताए । उनले आफू नेतृत्वमा आउँदा मुद्दाको फस्र्योट प्रतिशत ८ प्रतिशत रहेकोमा अहिले बढेर १५ प्रतिशत पुगेको बताए ।

उनले भने, ‘न्यायपालिका अहिले सुधारोन्मुख छ । हामीले विभिन्न अवरोधहरु, विभिन्न प्रवृत्तिहरु, विकृतिहरु, विसंगतिहरु बेहोर्यौँ । भोग्यौँ । र त्यो सुधार गर्नको निमित्त कानून व्यवसायीको क्षेत्रबाट, न्यायाधीशको क्षेत्रबाट हामीले भोगेर यसलाई सुधार गर्नुपर्छ भनेर प्रतिवद्धताको साथ अहिले हामी आएका छौँ । म प्रतिवद्धता व्यक्त गर्न चाहान्छु, न्यायपालिकालाई अब हामीले यो भन्दा पहिलेको स्थिति भन्दा फरक ढंगबाट हेर्नुपर्छ ।‘ कार्कीले तत्कालका लागि गोलाप्रथाको विकल्पमा जान नसकिने बताए ।

उनले अटोमेशनमा जाने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अटोमेशनमा जानु अघिसम्म गोलाप्रथाबाटै मुद्दा हेरिने बताए । उनले भने, ‘गोलाको विकल्प तत्काल हामी जानसक्ने अवस्था पनि छैन ।

हरिकृष्ण कार्कीको प्रतिवेदनले पनि अटोमेशनमा जाने हो र अटोमेशनमा नजाँदासम्म, अटोमेशनको कार्यान्वयन नहुँदासम्म हामी गोला प्रक्रियाबाट नै मुद्दा हेर्ने भएको हुनाले अहिले हामी अरु कुरामा विचार गर्न सक्ने पक्षमा छैनौँ र अटोमेशनमा जानका लागि प्रक्रिया सुरु भइसकेको छ । अटोमेशन कार्यान्वयन हुन्छ भन्ने मलाई लाग्छ ।’
 

ताजा खबर