पुटिनलाई जेलेन्स्कीसँग सीधा वार्ता गर्न फ्रान्स र जर्मनीको आग्रह

२०७९ जेठ १५ आइतबार १२:२१:०० मा प्रकाशित

फ्रान्स र जर्मनीका नेताहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनी राष्ट्रपतिसँग सीधा वार्ता गर्न आग्रह गरेका छन् । एमानुएल माक्रोँ र ओलाफ सोल्जले पुटिनसँग फोनमार्फत् ८० मिनेट कुराकानी गरेका थिए । ती दुवै नेताले तत्काल युद्धविराम र रुसी सेना फिर्ता गने विषयमा जोड दिएको जर्मन चान्सलरको कार्यालयले जनाएको छ ।

यसअघि युक्रेनका राष्ट्रपतिले आफू वार्ताका लागि त्यति इच्छुक नभएको तर द्वन्द्व अन्त्य गर्न आवश्यक भएको टिप्पणी गरेका थिए। क्रेम्लिनका अनुसार रुसी नेताले मस्को किएभसँग संवाद पुनः सुरु गर्न खुला रहेको बताएका थिए । त्यसमा पुटिन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच सीधा वार्ताको सम्भावनाबारे केही उल्लेख गरिएको छैन ।

फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरूले प्रत्यक्ष भेटेर तथा आआफ्नै ठाउँमा रहेर विभिन्न चरणमा वार्ता गरेका छन् । तर ती प्रयासहरूले अवस्थामा सुधार ल्याउन सकेको छैन। फ्रान्स र जर्मनीले पुटिनलाई युक्रेनी सहर मारिऊपोलस्थित आजोभ्स्टाल स्टील उद्योगबाट युद्धबन्दी बनाइएका २५० सय युक्रेनी लडाकुहरूलाई छाड्न समेत आग्रह गरेका छन् ।

रुसले निरन्तर गरेको बम आक्रमणमा परी उक्त विशाल कारखाना अहिले ध्वस्त भएको छ । यसै महिनाको सुरुमा मस्कोका अधिकारीहरूले त्यहाँ प्रतिरोध गरिरहेका अन्तिम युक्रेनी लडाकुहरूले आत्मसमर्पण गरेको बताएका थिए।


 

ताजा खबर