सत्ता गठबन्धनले मुलुकको दुरगामी यात्रालाई अल्मल्याएको ओलीको आरोप

२०७९ जेठ १५ आइतबार ०९:०९:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका अंगहरुको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको टिप्पणी गरेका छन् ।

आइतबार १५औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गरी अध्यक्ष ओलीले यसले मुलुकको दुरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाहरुप्रतिको जनताको आस्थामा समेत चोट पुर्याएको बताएका हुन् ।

उनले भनेका छन्, ‘जनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या/अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको छ ।’

जसका कारण मुलुकको विकासका सम्पूर्ण कामहरुमा अल्पविराम लागेका र केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको ओलीको भनाइ छ ।

गत आम निर्वाचनबाट बनेको नेकपा एमालेको सरकारले नयाँ संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको उनको दाबी छ।

'आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रवृत्तिलाई हामीले सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएका थियौं। नेकपा एमालेको सरकारका ऐतिहासिक प्रयासले राष्ट्रिय हितको संवर्द्धन, राष्ट्रिय स्वाभिमानको रक्षा र प्रवर्द्धन भएको थियो भने राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरूमा संविधानप्रतिको स्वीकार्यता बढाउन सफलता प्राप्त गरेका थियौँ’, उनले भनेका छन्।

ताजा खबर