बैतडीका २२४ विद्यालय दरबन्दीविहीन, पठनपाठनमा समस्या

२०७४ पौष १९ बुधबार १२:३३:०० मा प्रकाशित

बैतडी, १९ पाैष । बैतडीमा २२४ सामुदायिक विद्यालय शून्य दरबन्दीमा सञ्चालनमा रहेका छन् । आधारभूत तहदेखि माध्यमिक तहसम्मका ५३९ सामुदायिक विद्यालयमध्ये शून्य दरबन्दी रहेका विद्यालयमा निजी स्रोतका शिक्षकले पठनपाठन गरिरहेका छन् । दरबन्दी नहुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत खस्कँदै गएको छ । समुदायले विद्यालय स्थापनाका लागि माग गर्दा जिल्ला शिक्षा कार्यालयले अनुमति दिएको तर विद्यालयमा दरबन्दी नहुँदा समस्या भएको विद्यालयले जनाएका छन् । 
बैतडीका ५३९ सामुदायिक विद्यालयमध्ये आधारभूत तहअन्तर्गत कक्षा १ देखि ५ सम्म पढाइ हुनेमध्ये ९० विद्यालय दरबन्दीविहीन छन् । यस्तै कक्षा १ देखि ८ सम्म पढाइ हुने ९१ र माध्यमिक तहका ४३ विद्यालय दरबन्दीविहीन छन् । दरबन्दी नभएका विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । 
शिक्षक दरबन्दी मिलान नहुँदा र लामो समयसम्म शिक्षक दरबन्दी पूर्ति नहुँदा सामुदायिक विद्यालयले समस्या खेपिरहेका छन् । दरबन्दीअनुसारका शिक्षक नहुँदा पठनपाठन प्रभावित हुने गरको सिद्धनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक शिक्षक गणेश अवस्थीले बताए। विद्यालयसँग आर्थिक अवस्था नहुँदा शिक्षक राख्न सकेका छैनौँ उहाँले भने, “निजी स्रोतका शिक्षक पनि एक दुई महिना काम गर्ने भएकाले पठनपाठन प्रभावित हुँदै आएको छ ।” 
निजी स्रोतमा चलेका विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक दशरथ भट्टले बताए । पूर्णतयाः निजी स्रोतबाट समुदायले विद्यालय सञ्चालन गर्छौं भनेर अनुमति लगेका हुन् उनले बताए । “निजी स्रोतमा विद्यालय सञ्चालन गर्दा विषयगत शिक्षक नराख्ने भएकाले शैक्षिक गुणस्तर खस्किँदै गएको छ”, विद्यालय निरीक्षक भट्टले भने – “बैतडीमा २०७१ सालमा दरबन्दी मिलान गर्ने निर्णय गरिएको भए पनि त्यो कार्यान्वयनमा आउन सकेन, फलस्वरुप सामुदायिक विद्यालयमा शिक्षकको अभाव कायमै रहेको छ ।” 
भौतिक संरचना र शिक्षकको अभाव पूर्ति गर्ने दाबीसहित धेरै सामुदायिक विद्यालय सञ्चालनमा आए पनि पछिल्ला समयमा ती विद्यालय थलिँदै गएका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि नहुनुको एउटा कारण दरबन्दीअनुसारका शिक्षक नहुनु पनि हो । 
शिक्षकको दरबन्दी मिलान नहुँदा र लामो समयसम्म शिक्षक दरबन्दी पूर्ति नहुँदा सामुदायिक विद्यालयले खेपिरहेका समस्याका बारेमा सम्बन्धित निकायले ध्यान नदिए सामुदायिक विद्यालयको अवस्था झनै नाजुक हुने देखिन्छ । रासस

ताजा खबर