अमेरिकी विद्यालयको सुरक्षामा ध्यान दिन ट्रम्पको सुझाव

२०७९ जेठ १४ शनिबार १०:४१:०० मा प्रकाशित

पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । टेक्ससमा १९ विद्यार्थीको हत्या भएको केही दिनपछि उनले यस्तो बताएका हुन् । ह्युस्टनमा अमेरिकाको सबैभन्दा ठूलो बन्दुकधारी समूह नेशनल राइफल एसोसिएसन एनआरएको बैठक भइरहेको छ ।

युभाल्डीमा एक किशोरद्वारा सामूहिक गोली प्रहार गरेको तीन दिनपछि उक्त बैठक सुरु भएको हो। ‘हामीले इराक र अफगानिस्तानमा करोडौँ खर्च गर्यौँ र त्यसबाट केही उपलब्धि भएन,’ ट्रम्पले शुक्रवार दिएको मन्तव्यमा धेरैले चर्को तालीसहित समर्थन जनाएका थिए।

यस महिनाको सुरुवातमा अमेरिकी कंग्रेसमा युक्रेनलाई सैन्य सहायतामा लगभग ४० अर्ब डलर पठाउने विषय पारित भएको थियो । अमेरिकी सांसदहरूले फेब्रुअरीमा रुसले आक्रमण गरेदेखि हालसम्म युक्रेनमा करिब ५४ अर्ब डलर बराबरको सहयोग पठाएका छन् ।

ट्रम्पले बन्दुक नियन्त्रणमा कडाइ गर्नु पर्ने मागको विरोध गर्दै दुष्टहरूविरुद्ध आफ्नो रक्षा गर्न सभ्य अमेरिकीहरूलाई बन्दुक बोक्ने अनुमति दिनुपर्ने बताए। उनले प्रत्येक विद्यालयमा धातु पहिचान गर्ने उपकरण, कम्तीमा एक सशस्त्र प्रहरी अधिकारी र विद्यालय सुरक्षाको निम्ति एक मात्र प्रवेश विन्दु सुनिश्चित गर्ने प्रस्ताव अघि सारे ।

उनले डेमोक्रेटहरूले त्यस्ता सुरक्षा उपायहरूलाई ढुङ्गा हानेको आरोप लगाए। उनले लोकतन्त्रवादीहरू यस्ता सुरक्षा उपायको बाधक बनेको आरोप समेत लगाए । ५० लाख सदस्य रहेको हतियार समर्थक एनआरएको वार्षिक सम्मेलन अमेरिकाको एक दशकयताकै सबैभन्दा क्रुर विद्यालय गोली काण्ड भएको युभाल्डीबाट ४५० किलोमिटर टाढा भइरहेको छ।

ताजा खबर