काठमाडौंलाई पूर्ण विकसित र विश्वकै उत्कृष्ट बनाउन मेरो क्षमता लगाउनेछुः बालेन साह

२०७९ जेठ १३ शुक्रबार ०९:१८:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले आफ्नो सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनका लागि दिने प्रतिबद्धता जनाएका छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिंदै उनले अबको पाँच वर्ष आफ्नो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकासित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउने प्रतिवद्धता जनाएका हुन् ।

नगरवासीले दिएको अत्यधिक मतले आफू एकदमै खुसी भएको भन्दै उनले नगरवासीको मतलाई ऊर्जाको रुपमा लिएको बताए । उनले भने,‘महानगरपालिकालाई मेरो सम्पूर्ण समय दिनेछु । महानगरपालिका बाहेक कुनै पनि काममा समय दिनेछैन । आफ्नो सम्पूर्ण क्षमता, लगनशीलता, क्षमता र ज्ञानलाई महानगरपालिका व्यवस्थित बनाउन, स्वच्छ, सफा र पूर्णविकसित विश्वकै उत्कृष्ट बनाउन लगाउनेछु ।’
उनले अबका दिनमा भिजन, एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्ने बताए ।

उनले भने, ‘आजबाट यसलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएका छौं । हामी अबका दिनमा भिजन, एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्नेछौं ।’

स्वतन्त्र उम्मेदवार साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत ल्याएका छन् भन् उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ र स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् ।

 

ताजा खबर