बाजुराको बुढीगंगामा पुनः मतदान हुने

२०७९ जेठ १२ बिहीबार २०:०४:०० मा प्रकाशित

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।

आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाई अरु कर्मचारी पठाएर निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । बुढीगंगामा उत्पन्न विवादवारे अध्ययन गर्न निर्वाचन आयुक्त सगुन सम्शेर जबरासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाजुरा पुगेको थियो ।

सुरुमा सदरमुकाम मार्तडी आएर उनले सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, मतदानमा खटिएका निर्वाचन अधिकृतलगायतसँग घटनाबारे बुझ्ने काम गरेको थिए । दोस्रो दिन उनी बुढीगंगास्थित भानोदय माविको स्थलगत अध्ययन गर्न पुगेका थिए । उनैले बुझाएको प्रतिवेदनको आधारमा आयोगले पुनःमतदाना गराउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसले पनि उक्त घटनाप्रति खेद व्यक्त गर्दै आयोगलाई पुनःनिर्वाचन गराउन माग गर्दै ध्यानाकर्षण गराएको थियो । एमालेले यथास्थितमा मतगणना हुनुपर्ने अडान राखेको थियो ।

ताजा खबर