फ्रान्समा मङ्कीपक्स विरुद्धको खोप अभियान चलाइने

२०७९ जेठ ११ बुधबार २२:३३:०० मा प्रकाशित

विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्स विरुद्ध फ्रान्समा खोप अभियान चलाइने भएको छ । फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्कीपक्सविरुद्ध अति छिटो सतर्कता अपनाउदै प्रतिरोधात्मक तथा उपचारात्मक उपायलाई प्राथमिकता दिने रणनीति अनुसार खोप अभियान चलाउने निर्णय गरेको हो ।

फ्रान्समा यो घोषणा हुँदासम्म तीन जनामा मात्रै मङ्कीपक्सको सङ्क्रमण देखिएको र अव फैलिन सक्ने उच्च खतरा रहेको निश्कर्षसहित अभियान सुरु गरिएको अधिकारीहरूले जनाएका छन् ।

प्राधिकरणले जारी गरेको प्रेस वक्तव्यमा वयस्क र स्वास्थ्यकर्मीहरु यसको जोखिममा रहेकाले खोप पनि उनीहरुलाई केन्द्रित गर्ने उल्लेख गरिएको छ । सङ्क्रमित भएको व्यक्तिसँग ४ दिनदेखि १४ दिनसम्मको अवधिमा भौतिक सम्पर्क हुनु जोखिमपुर्ण भएकाले त्यही बेलामा खोप लगाउने व्यवस्था गर्न लागेको जनाइएको छ ।

प्राधिकरणका अधिकारीहरूले खोपको आवश्यकता परेको व्यक्तिलाई दुई वा तीन डोजको आवश्यकता पर्ने पनि जानकारी दिएका छन् । विश्वका धेरै देशमा यसको सङ्क्रमितहरू फैलिदै गएपछि नयाँ त्रास सृजना भएको छ । कतिपय देशहरुले यस बारेमा सतर्कता अपनाउन थालिसकेका छन् ।

 

ताजा खबर