अमेरिकाको एउटा विद्यालयमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा १९ जनाको मृत्यु

२०७९ जेठ ११ बुधबार ०९:०१:०० मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १८ जना विद्यार्थी र एक शिक्षक मारिएका छन् । राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन् । अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।

रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेका थिए । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् । स्थानीय अस्पतालका अनुसार विद्यार्थीहरूलाई आकस्मिक सेवा उपलब्ध गराइएको छ ।

६६ वर्षकी एक महिला अनि १० वर्षकी एक बालिका भने गम्भीर अवस्थामा रहेको जनाइएको छ । उक्त विद्यालयमा झन्डै ५०० बालबालिका भर्ना भएको बताइएको छ ।

अधिकारीहरूका अनुसार घटनामा मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारीसले यस्ता गोलीकाण्ड नदोहोरिउन् भनेर सुनिश्चित गर्नका लागि उनकै शब्दमा उचित र समझदारीपूर्ण नीति बनाउन आह्वान गरेकी छन् ।

ताजा खबर