'नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक’ घोषणा गरिने

२०७९ जेठ १० मंगलबार १७:२९:०० मा प्रकाशित

काठमाडौँ । सरकारले नेपाली उत्पादनको बजार विस्तार र उपभोग वृद्धिका लागि ‘नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक’ घोषणा गर्ने भएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्षको संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षबाट सरकारले नेपाली उत्पादनको बजार विस्तार र उपभोग वृद्धिका लागि ‘नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक’ घोषणा गर्ने र त्यहीअनुसार कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिइन् ।

उनले नेपाली अर्थतन्त्रलाई समुन्नत बनाउन ‘नेपाली उद्योग, नेपालमै रोजगार, आफ्नो उत्पादन, आफैं रोजगार’ भन्ने नाराका साथ अभियान सञ्चालन हुने बताइन् । अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम सञ्चलान गरिनेछ भने त्यस्तो कार्यक्रमअन्तर्गत कर तथा भन्सार महसुल छुट र निर्यात अनुदानमार्फत प्रवद्र्धन गरिनेछ ।

उनले सरकारले ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाको उपयोगद्वारा हरित अर्थतन्त्रको विकास गर्ने गरी औद्योगिक प्रवद्र्धनको नीति लिने जानकारी दिइन् ।


 

ताजा खबर