मङ्कीपक्स भाइरसको प्रकोप नियन्त्रण गर्न सकिन्छः डब्ल्यूएचओ

२०७९ जेठ १० मंगलबार १२:३०:०० मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अफ्रिकाबाहिर सामान्यतया मङ्कीपक्स नपाइने हुँदा ती देशमा उक्त भाइरस नियन्त्रण गर्न सकिने जनाएको छ । अमेरिकी महादेश, युरोप र अस्ट्रेलियामा मङ्कीपक्सबाट एक सय जनाभन्दा बढी सङ्क्रमित भएको बताइएको छ । उक्त सङ्ख्या थप बढ्न सक्ने अपेक्षा गरिएको छ, तर ठूलो जनसङ्ख्यामा जोखिम भने निकै कम रहेको विज्ञहरूले बताएका छन् ।

अफ्रिकाको मध्य अनि पश्चिमी क्षेत्रका ग्रामीण भेगमा यो भाइरस सामान्य रूपमा पाइन्छ । डब्ल्यूएचओकी भान कर्कोभाले यो नियन्त्रण गर्न सकिने बताइन् । अफ्रिकाबाहिर हाल १६ देशमा यो भाइरस फेला परेको पाइएको छ ।

पछिल्लो ५० वर्षमा अफ्रिकाबाहिर फैलिएको यो सबैभन्दा ठूलो स्तरको प्रकोप भए पनि मङ्कीपक्स सहजै मानिसहरूमा नसर्ने हुँदा यसको जोखिम कोरोनाभाइरस महामारीसँग तुलना गर्न नसकिने विज्ञहरूको भनाइ छ । डब्ल्यूएचओले अफ्रिकाबाहिर मङ्कीपक्स प्रकोप लक्षित ठूलो स्तरको खोप कार्यक्रम आवश्यक पर्ने आफूहरूको विश्वास नरहेको जनाएको छ ।

समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा डब्ल्यूएचओका एक वरिष्ठ अधिकारीले प्रकोप नियन्त्रण गर्ने प्रारम्भिक उपायहरूमा कनट्याक्ट ट्रेसिङ, एकान्तवास र सुरक्षित यौन व्यवहार रहेको उल्लेख गरेका छन् ।

अमेरिकाले आफूसँग बिफर र मङ्कीपक्सविरुद्ध प्रयोग गर्नका लागि स्वीकृति प्राप्त सानो परिमाणमा खोप उपलब्ध रहेको र त्यो सङ्क्रमित मानिसहरूसँग नजिकको सम्पर्कमा पुगेकाहरूलाई उपलब्ध गराउने तयारी गरिएको जनाएको छ । सङ्क्रमणका प्रारम्भिक लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु पर्छन् । एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ ।


 

ताजा खबर