ताइवानको रक्षा गर्न शक्ति प्रयोग गर्ने अमेरिकी चेतावनी

२०७९ जेठ १० मंगलबार १२:१४:०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडनले ताइवानको रक्षा गर्न आफू शक्ति प्रयोग गर्न तयार रहेको बताएका छन् । यद्यपि ह्वाइट हाउसका अधिकारीहरूले चीन–ताइवान सम्बन्धबारे अमेरिकाको आधिकारिक धारणा परिवर्तन नभएको बताएका छन् । चीनले ताइवानमा सैन्य आक्रमण गरेमा अमेरिकाले हस्तक्षेप गर्छ कि गर्दैन भन्ने विषयमा वाशिङ्टनले लामो समयदेखि रणनीतिक अस्पष्टता राख्दै आएको छ ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङले ताइवानसँग फेरि एकीकरण गर्नुपर्ने बताउँदै त्यो लक्ष्य हासिल गर्न शक्ति प्रयोगको सम्भावित अवस्थालाई अस्वीकार गरेका छैनन् । ताइवानमा स्वायत्त शासन छ। तर चीनले ताइवानलाई चोइटिएर गएको आफ्नो प्रान्तका रूपमा हेर्छ र अन्ततः त्यो फेरि आफ्नै देशको भाग हुने ठान्छ ।

ताइवानले आफूलाई अलग्गै संविधान भएको र प्रजातान्त्रिक विधिबाट निर्वाचित नेता रहेको स्वतन्त्र राष्ट्रका रूपमा हेर्छ । गत वर्ष अभूतपूर्व सङ्ख्यामा चिनियाँ लडाकु विमानहरूको लर्को ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा देखा परेपछि चीन र ताइवानबीच तनाव बढ्दै गएको छ।
 

ताजा खबर