मङ्गल ग्रहमा नासाले पठाएको ’इन्साइट प्रोब’ मा ऊर्जा अभाव

२०७९ जेठ १० मंगलबार ११:५२:०० मा प्रकाशित

मङ्गल ग्रहमा नासाले पठाएको ’इन्साइट प्रोब’ मा ऊर्जा अभाव भएको छ । त्यसकारण अरू प्रणाली बन्द भए पनि उक्त अन्तरिक्षयानमा जडित साइज्मोमिटरले मङ्गल ग्रहको सहतमा हुने कम्पनको निगरानी जारी राखिरहने छ ।

उक्त अन्तरिक्षयानले भर्खरै मात्र मङ्गल ग्रहमा म्याग्निट्यूड ५ को कम्पन पत्ता लगाएको थियो। मङ्गलमा तीन वर्षदेखि सञ्चालित उक्त वैज्ञानिक अभियानमा नासाले पत्ता लगाएको त्यो नै सबैभन्दा ठूलो घटना हो ।

’इन्साइट’ मा जडित सोलर प्यानलहरूले अहिले निकै कम ऊर्जा सञ्चय गर्न सकेका छन् । सौर्य ऊर्जा सङ्कलन गर्ने साधनहरू धुलोले ढाकिएका छन् भने मङ्गल ग्रहमा जाडो याम सुरु हुन लागेको छ । प्रकाशको मात्रा कम हुँदा नासाको यो अभियानको अन्त्य हुने छ । उक्त प्रोबका रोबोटिक हातजस्ता उपकरणहरू यथास्थितिमा अड्किने र काम गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

इन्साइटले १३ सय वटा मङ्गलकम्प मापन गरिसकेको छ । यद्यपि सबैभन्दा महत्वपूर्ण मानिएको साइज्मोमिटर केही समयका लागि सीमित काम गर्न सक्ने अवस्थामा राख्न सकिने छ ।


 

ताजा खबर