पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्यो

२०७९ जेठ ९ सोमबार २०:१६:०० मा प्रकाशित

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिभएसँगै हवाई इन्धनको समेत मूल्य बढेपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । सोमबार सूचना जारी गरी वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् । संघका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ भने काठमाडौं–सिमरा ९० रुपैयाँले बढेको छ ।

योसँगै अब काठमाडौंदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ । यस्तै काठमाण्डौ–नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ । बढेको भाडा आगामी बुधबार अर्थात् जेठ ११ गतेदेखि लागू हुने संघले जनाएको छ ।

आइतबार मात्र नेपाल आयाल निगमले पेट्रोल, मट्टितेल र डिजेलको समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो भने यता हवाई इन्धनको समेत प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।

ताजा खबर