निर्वाचनमा सत्ता गठबन्धन सफल भएको कांग्रेसको दाबी

२०७९ जेठ ९ सोमबार १६:४९:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा सत्ता गठबन्धन सफल भएको जनाएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनमा सत्ता गठबन्धन सफल भएको दाबी गरेका हुन् ।

उनले ७५३ मध्ये ३२० तहमा कांग्रेसले जितिसकेको उल्लेख गर्दै यसलाई सन्तोषजनक रुपमा लिनुपर्ने बताए । उनले पार्टीभित्रै अन्तरघात भएको विषयलाई भने पार्टीले समीक्षा गर्ने बताए ।

अन्तरघात नभएको भए कांग्रेसले चार सय स्थानीय तहमा जित्ने दाबी गरे । उनले भने,‘निर्वाचनको परिणामले गठबन्धनको अगाडिको मार्गचित्र समेत प्रस्ट गरेको छ । यो परिणामबाट कांग्रेसको नेतृत्व सन्तुष्ट छ । गठबन्धनका शीर्ष नेताहरू समेत सन्तुष्ट हुनुहुन्छ ।’

उनले नेकपा एमालेले चुनावमा धाँधली भएको आरोप लगाएको भन्दै अहिलेसम्म कांग्रेसको नेतृत्वमा मात्रै धाँधलीरहित र शान्तिपूर्णरुपमा चुनाव हुँदै आएको दाबी गरेका छन्।

प्रवक्ता महतले धरानमा स्वतन्त्र उम्मेदवार जितेको र काठमाडौंमा बालेन साहको अग्रताको विषयलाई पार्टीले ‘नोटिस’मा राखेको बताए। उनले भने,‘धरानमा किशोर राई पनि सामाजिक सेवामा लागेका चर्चित व्यक्ति हुन्। त्यहाँ खराब उम्मेदवार दिएको त होइन । तर कहिलेकाही विभिन्न हावा चल्छ । यो अपवाद हो। काठमाडौं पनि यस्तै हो। यसलाई पार्टीले नोटिसमा लिएको छ।’

ताजा खबर