इरानको रेभलूशनरी गार्ड्सका कर्णेलको हत्या

२०७९ जेठ ९ सोमबार १२:०८:०० मा प्रकाशित

निकै शक्तिशाली मानिने इरानको रेभलूशनरी गार्ड्सका एक कर्णेलको राजधानी तेहरानमा हत्या गरिएको छ । मोटरसाइकलमा सवार दुई व्यक्तिले आफ्नो निवासअगाडि कारमा रहेका सय्यद खोदाइमाथि गोली प्रहार गरी हत्या गरेका हुन् । हत्याको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

इरानले भने अमेरिका र उसका साझेदार राष्ट्रहरूले हत्या गरेको आरोप लगाएको छ । आइतबार भएको उक्त घटनामा संलग्न भएकाहरूको खोजी भइरहेको छ । यो सन् २०२० मा इरानमा एकजना वरिष्ठ परमाणु ऊर्जा वैज्ञानिकको हत्यापछि भएको सबैभन्दा ठूलो सुरक्षा त्रुटि हो । घटनास्थलका तस्बिरमा रगताम्य व्यक्ति सिटबेल्टसहित कारमा रहेको देखिन्छ ।

कर्णेल खोदाइ रेभलूशनरी गार्ड्स अन्तर्गत गोप्य रूपमा काम गर्ने सैन्य निकाय कूड्स फोर्सका वरिष्ठ सदस्य थिए । अमेरिकाले उक्त सैन्य बलले आतङ्कवादी समूहलाई समर्थन गरेको र मध्यपूर्वमा भएका आक्रमणमा उसको हात रहेको आरोप लगाउँदै आएको छ । पछिल्ला वर्षहरूमा मारिने कूड्स फोर्सका खोदाइ दोस्रो वरिष्ठ अधिकारी हुन् ।

सन् २०२० मा इरानका सबैभन्दा शक्तिशाली कमान्डर कासिम सुलेमानी अमेरिकी हवाई हमलामा मारिएका थिए । सन् २०२० मै परमाणु ऊर्जासम्बन्धी वरिष्ठ वैज्ञानिकको समेत तेहरानमा गोली हानेर हत्या गरिएको थियो । इरानका लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनी सधैँ सुरक्षाकर्मीहरूसँगै हुन्थे । इरानका सञ्चारमाध्यमहरूले स्रोतलाई उदृत गर्दै खोदाइ विश्वभरि इरानले गरेका कैयौँ आक्रमणका लागि जिम्मेवार रहेको जनाएका छन्।

 

ताजा खबर