आठ वर्षअघिको बलात्कार घटनाका आरोपी पाण्डे पक्राउ

२०७९ जेठ ७ शनिबार १८:४०:०० मा प्रकाशित

काठमाडौं । सुन्दरी प्रतियोगिताका नाममा किशोरी बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । महानगरी अपराध अनुसन्धान महाशाखाको टोलीले पाण्डेलाई शनिबार स्वयम्भुबाट पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई आयोजकले होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले बताएकी छन । सामाजिक संजालमा युवतीले न्याय मागेको भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय अनुसन्धान समितिसमेत बनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ ।

घटना सार्वजनिक भएपछि सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रतिनिधिसभा बैठकमा यससम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका थिए । त्यस्तै दोषीलाई कारबाहीको माग गर्दै दुई दिनदेखि काठमाडौंमा प्रदर्शनसमेत भइरहेको छ ।

ताजा खबर