अमेरिकी र दक्षिण कोरियाली राष्ट्रपति बीच भेटवार्ता

२०७९ जेठ ७ शनिबार १५:०३:०० मा प्रकाशित

अमेरिकाका राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलका बीचमा शनिबार भेटवार्ता भएको छ । योल राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक दक्षिण कोरियाको भ्रमणमा आएका बाइडेन र योलबीच सोलमा भेटवार्ता भएको हो ।

आणविक हतियारको चर्चा र कोरोना भाइरसको महामारी चलिरहेका बेला भएको उनीहरूको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । उनले सोल राष्ट्रिय स्मृति पार्कमा प्रार्थना गरेर भ्रमणको सुरुवात गरेका थिए । त्यसपछि दुई राष्ट्रपतिका बीचमा छलफल भयो र पत्रकार सम्मेलन आयोजना गरेकाथिए । उनले आइतबार जापानको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

उनीहरूले आणविक हतियारसँगै रुस—युक्रेन युद्धलगायत विषयमा पनि छलफल गरेका जनाइएको छ । त्यसैगरी आपसी सम्बन्ध थप बलियो बनाउने, सहकार्य बढाउनेलगायतका विषयमा पनि छलफल भएको अधिकारीहरूले जनाएका छन् । अमेरिकी रणनीतिका लागि जापान र दक्षिण कोरिया महत्वपूर्ण देश भएकाले पनि बाइडेनले ती देशका शीर्ष नेताहरूसँग छलफल गर्नुलाई चासोका साथ हेरिएको छ ।

ताजा खबर