भरतपुरमा विजय सुवेदी भन्दा रेनु दाहाल ५ हजार मतले अगाडि

२०७९ जेठ ७ शनिबार १४:३९:०० मा प्रकाशित

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा ७४ हजार १८८ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नम्बर १५ र १६ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा गणना सकिएको हो । मतगणना जारी रहेको अवस्थामा भरतपुर महानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

महानगर मेयरमा नेकपा (माओवादी केन्द्र)का रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई पाँच हजार ५९० मतान्तरले पछि पारेकी छन् । दाहालले २८ हजार ८०८ मत प्राप्त गर्दा सुवेदीले २३ हजार २१८ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९८ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरुङलाई १३ हजार ९९ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ३१ हजार १२१ मत प्राप्त गर्दा गुरुङले १८ हजार २२ मत प्राप्त गरेकी छन् । यस्तै गणना जारी रहेका वडामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । गणना सकिएका वडामा कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, एमालेले वडा नं ३, ११ र १२, नेकपा (एकीकृत समाजवादी)ले ७ र ९ तथा माओवादीले वडा नं १३ मा विजयी हासिल गरेको छ । भरतपुर महानगरमा २९ वडा छ ।

ताजा खबर