धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

२०७९ जेठ ७ शनिबार १३:५८:०० मा प्रकाशित

धनुषा । धनुषाको मिथिला विहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नेकपा एमालेका अनिलकुमार यादवलाई २१० मतान्तरले हराउँदै मेयरमा कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी भएका छन् ।

राजेन्द्र ४३०४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी पूर्व मेयरसमेत रहेका अनिलले ४०९४ मत प्राप्त गरे । उपमेयरमा भने नेकपा माओवादीकी शोभादेवी साह विजयी भएकी छन् । साहले ३३३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)की अनिता कुमारीले २७९७ मत प्राप्त गरेकी छन् ।

धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस
धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका प्रदीप यादव चार हजार ४०९ मतका साथ विजयी भएकामा निकटतम प्रतिस्पर्धी लोसपा पूर्वप्रमुख रामज्ञान मण्डलले दुईहजार ८१५ मत प्राप्त गरे ।

उपप्रमुखमा पनि कांग्रेसकी दुर्गा देवी चार हजार ४६५ मत ल्याएर विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी लोसपाकी दिपिका क्षेत्रीले २९०३ मत प्राप्त गरिन् ।

ताजा खबर