हेटौँडामा एकीकृत समाजवादीकी मीना लामा मेयरमा निर्वाचित

२०७९ जेठ ६ शुक्रबार २३:५३:०० मा प्रकाशित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला मेयर पाएको छ । लामो समय एमालेको लालकिल्लाको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा विजयी भएकी हुन् ।

लामाले २३ हजार ७५ मत ल्याएर विजयी भइन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका नेता अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत ल्याए । त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याए । लामाले पौडेललाई २ हजार १ सय ६७ मतले पराजित गरेकी हुन् । त्यस्तै उपमेयरमा कांग्रेसका राजेश बानिया निर्वाचित भएका छन् ।

उनले ३२ हजार ५ सय ९३ मत ल्याउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याइन् । राप्रपाकी इन्दिरा न्यौपानले ५ हजार ४ सय ८३ मत ल्याइन् । लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपमेयरको रुपमा भारी मतले विजयी भएकी थिइन् । नेकपा एमालेको विभाजन पछि नेकपा एकीकृत समाजवादीमा रहेकी उनले गठबन्धनको तर्फबाट उम्मेदवार थिइन् ।

ताजा खबर