हावाहुरीले चितवनमा तीन जनाको मृत्यु

२०७९ जेठ ६ शुक्रबार २२:४४:०० मा प्रकाशित

चितवन । चितवन जिल्लामा शुक्रबार साँझ आएको हावाहुरीका कारण अटोरिक्सामा सवार तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । फरकफरक ठाउँमा भएको दुर्घटनामा परी तीनको मृत्यु भएको हो ।

भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन् । रुख ढल्दा अटोमा लागि दुर्घटना भएको उनले बताए ।

घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उनले जानकारी दिए । उनका अनुसार हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुखहरु ढल्ने र पोलहरु ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

ताजा खबर