घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

२०७९ जेठ ५ बिहीबार ०९:४०:०० मा प्रकाशित

दाङ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) विजयी भएको छ । मेयरमा नरुलाल चौधरी ३१ हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का हेमराज शर्माले २६ हजार ३२८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । चौधरी निवर्तमान नगरप्रमुख हुन् ।

उपमेयरमा एमालेकै हुमा डीसी ३० हजार ४०३ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुपबहादुर डाँगीले ३० हजार ३५४ मत प्राप्त गरे ।

१९ वडामध्ये घोराहीमा वडा नं १, २, ३, ४, ५, ६, ८, ११, १२, १४ र १८ मा एमाले, वडा नं १०, १३, १५, १६ र १९ मा काँग्रेस तथा वडा नं ९ मा माओवादी केन्द्र विजयी भयो । उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ (६७.७६ प्रतिशत) मत खसेको थियो ।
 

ताजा खबर