निर्वाचन परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति आएनः माधव नेपाल

२०७९ जेठ ३ मंगलबार १३:४४:०० मा प्रकाशित

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समीक्षा गर्नुपर्ने बताएका छन् । २९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा मंगलबार नेकपा(एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा समीक्षा गरिने बताएका हुन् ।

उनले स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको बताए । उनले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकहरुले नै आफूहरुसँग सहकार्य गर्न नचाहेको उल्लेख गरे । 

उनले भने, ‘हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ । हामी निर्वाचनको पनि गम्भिर समीक्षा गर्नेछौँ । गठबन्धनको पनि समिक्षा हामी गर्नेछौँ । समिक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटी गर्यौँ र आगामी दिनमा हामीले के कुरामा होस् गर्नुपर्ने हो । त्यस हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्यपनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला । संख्याको हिसाबले ५०० को सदस्यको तहलाई अहिले हामी नाघिरहेका छौँ । सय जनाको संख्यामा वडा अध्यक्ष जित्ने स्थिति बनाएका छौँ । झन्डै १५, २० जना पालिकाका प्रमुख, उपप्रमुख जित्ने स्थिति बनेको छ । कतिपय ठाउँहरुमा राम्रै अवस्था पनि छ । अझैपनि कतिपय ठाउँहरुमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौँ । गठबन्धन दलका सदस्यहरुले हामीसँग सहकार्य गर्न चाहेनन् । हाम्रा आफ्नै कुराहरु होलान् । अरुका आफ्नै गुनासाहरु होलान् । जे सुकै गरेपनि यो पार्टीलाई बलियो जगमा उभ्याउनु पर्नेछ । यो पार्टीलाई जनताको माझमा क्रियाशिल गर्नुपर्ने छ ।’


उनले पार्टीलाई वैचारिक रुपमा दह्रो बनाउनुपर्ने बताए । अध्यक्ष नेपालले पार्टीलाई बलियो जगमा उभ्याउँदै जनताको माझमा क्रियाशिल गराउन नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।

ताजा खबर