माङसेबुङमा एमालेका राई र उपाध्यक्षमा जसपाका नेम्बाङ विजयी

२०७९ जेठ २ सोमबार ०९:५४:०० मा प्रकाशित

इलाम । इलामको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन् । उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भएका छन्

एमालेका राईले तीन हजार ८१८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले तीन हजार ४९५ मत पाएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए । मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार केरुङले १४ मत मात्र पाए ।

इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी भएका थिए । पाँच वर्षपछि दुवै नेताबीच दोस्रो पटक आमनेसामने भएका हुन् । यसपटक भने राईले विजय हासिल गरे ।

राई एमालेका माङसेबुङ गाउँकमिटीका अध्यक्ष हुन् भने इदिङ्गो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन् ।


 

ताजा खबर