नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

२०७९ बैशाख ३१ शनिबार ०८:०२:०० मा प्रकाशित

मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो । सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको हो । नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत भएका छन् ।

उनले १५८ मत पाएर निर्वाचित भएका हुन् । उननका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाएका थिए । नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो । त्यस्तै चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका थिए । उनी ३२० मतले अध्यक्षमा निर्वाचित भएका हुन् ।

कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरेका छन् । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएका छन् । कम मतदाता भएको पालिकाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिए ।

उनका अनुसार मनाङ ङिस्याङ र नासो गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताए । मतगणना आज साँझसम्ममा सकिने उनले बताए । जिल्ला ६२.६० प्रतिशत मत खसेको छ । कूल छ हजार ४९६ मतदाता रहेकामा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताए ।

सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात् ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ । नासो गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकामा एक हजार ४९६ मत अर्थात् ८३.०१ प्रतिशत मत खसेको छ । चामेमा ७११ मतदाता रहेकामा ६१० मत अर्थात् ८५।७९ प्रतिशत मत खसेको छ । नार्पाभूमिमा ४४८ मतदाता रहेकामा ३०४ मत अर्थात् ६७।८५ प्रतिशत मत खसेको थियो ।

ताजा खबर