कतैपनि मतदान स्थगित भएको छैन : निर्वाचन आयोग

२०७९ बैशाख ३० शुक्रबार १५:२६:०० मा प्रकाशित

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि स्थगित भने नभएकोे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

उनकाअनुसार मतदान अवरुद्ध भएको ठाउँमा पनि आयोगको तर्फबाट कमी कमजोरी भएका कारण नभइ राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण भएको हो । कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ ।

“दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला, बाजुरालगायत केही जिल्लाका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको छ”, उनले भने । शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदाताहरु लामबद्ध भई मतदानमा सहभागी भइरहेका छन् ।
२ बजेसम्म ४१ प्रतिशत मतदान
स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा दिउँसो २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमध्ये कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको उनको भनाइ थियो ।

ताजा खबर