आफ्नो विवेक प्रयोग गरी मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको अपील

२०७९ बैशाख २९ बिहीबार १९:३२:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले कसैको लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेका हुन् ।

उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी पनि पूरा भइसकेको जानकारी दिएका छन् । प्रमुख आयुक्त थपलियाले निर्वाचनका लागि शान्ति सुरक्षाको सबै प्रवन्ध मिलाइ सकिएको र मतपेटिकाको सुरक्षा र सकिएपछि सबै मतपेटिका लैजाने काममा पनि सुरक्षित तवरबाट गरिने व्यवस्था मिलाएको बताए ।

प्रमुख आयुक्त थपलियाले भने, ‘पद, पैसा र पहुँचबाट प्रभावित नभइ निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भइ कसैको लोभ, लालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको सही तरिकाले प्रयोग गर्न म सबै मतदाता महानुभावहरु प्रति आह्वान गर्दछु । निर्वाचनका सबै तयारी पूरा भइसकेका छन् । शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति हुनेगरी सुरक्षा व्यवस्था मिलाइएको छ । मतदान कार्य सम्पन्न हुनासाथ सुरक्षित तवरबाट मतपेटिकाको ढुवानीको आवश्यक प्रवन्ध मिलाइएको र सबै मतपेटिका संकलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको छ, कुनैपनि मतदाता मतदानको अधिकारबाट वञ्चित नहुन् भन्ने उद्देश्यले आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, राहदानी अथवा जग्गाधनी प्रमाणपूर्जाको सक्कली प्रमाणपत्रमध्ये कुनै एकको माध्यमबाट भोट हाल्न पाउने व्यवस्था गरिएको छ ।’

थपलियाले कसैको प्रलोभनमा नपरी, सही तरिकालकाट निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सफल बनाइदिन सम्पूर्ण मतदाताहरुलाई आग्रह गरे ।


 

ताजा खबर