मतदाता गाउँ फर्केपछि सुनसान बने काठमाडौँ उपत्यकाका सडक

२०७९ बैशाख २९ बिहीबार १४:४७:०० मा प्रकाशित

नारायण ढुंगाना, काठमाडौँ । शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् ।

स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच वर्षमा आउने निर्वाचनमा मताधिकारको सदुपयोग गर्न मतदाता आफ्नो नामावली भएको स्थानमा केन्द्रिकृत भएका छन् । काठमडौँ उपत्यकालगायत मुलुकका मुख्य सहरबाट मतदाताहरु आफ्नो स्थानमा केन्द्रित भइरहेका छन् । काम विशेषले गाउँ छाडेका धेरै मतदाता गाउँफर्किसकेका छन्,भने यसअघि जान नपाएका मतदाताहरुको फर्किने लर्को आज पनि उपत्यकाका नाकाहरुमा सजिलै देखिएको छ ।

बुधबारमात्रै ८३ हजार नागरिकले काठमाडौँबाट उपत्यका छाडिसकेका प्रहरीले जनाएको छ । यही २१ देखि २८ गतेसम्म ५ लाख ५० हजार बढी यात्रुले उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले जानकारी दिए ।

उनका अनुसार आज भित्रिनेको तुलनामा बाहिरिनेको सङ्ख्या झन् धेरैछ । यो क्रम नेपालका धेरैजसो ठूला सहरमा देखिन्छ । यसपालिको निर्वाचनमा मतदातामा छुट्टै उत्साह देखिएको छ भने मुलुक नै निर्वाचनमय बन्न पुगेको छ । मुलुकभर एकैपटक निार्वाचन हुन लागेकाले पनि वातावरण थप उत्साहित छ ।

पछिल्लो समयमा अधिकांश मतदाता राजनीतिक दलले व्यवस्था गरेको यातायातका साधनबाट गाउँ फर्किएका छन् भने कतिपय भाडाका सवारीसाधन र निजी गाडीमासमेत गइरहेका देखिएका छन् । मत हाल्ने दिन सरकारले सार्वजनिक बिदा दिएको, अर्को दिन शनिबार परेको र जेठदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयअनुसार आइतबार र सोमबारसमेत बिदा परेकाले पनि नागरिकहरु केही दिनको छुट्टी लिएरै गाउँ फर्किएका छन् ।

आज राति १२ बजदेखि सवारीसाधन सञ्चालन गर्न नपाउने भएकाले पनि यसअघि जान नपाएका मतदाता आज साँझसम्म फर्किने तरखरमा रहेका छन् । यसपाली निर्वाचनमा एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । आजसम्म १८ वर्ष पूरा भएका नागरिकले मतदान गर्न पाउने छन् ।

मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।

मङ्गलबार राति १२ बजेदेखि लागू हुनेगरी मौन अवधि सुरु भइसकेको छ भने अन्तर्राष्ट्रिय सीमा नाकासमेत बन्द गरिएको छ । मुलुकभर प्रचारप्रसारसहित मतदाता प्रभावित पार्ने गतिविधिमा रोक लगाइए पनि सार्वजनिक समाचारमा उल्लेख भएअनुसार आचारसंहिता विपरितका गतिविधि छिटफुट रुपमा भइरहेको छ ।


आसन्न निर्वाचनका कारण काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै भएको छ । उपत्यका भित्रिने सवारी प्राय छैन भने बाहिरिने सवारी साधनको चाप अझै देखिएको छ । मतदाताहरु काठमाडौँको कलङ्की, बालाजु, कोटेश्वर, बल्खु, गौशालालगायत विभिन्न नाकाबाट गाउँ फर्किने क्रम जारी रहेको छ । आज मात्रै सवारी चल्ने भएकाले पनि यसअघि जान नपाएका यात्रु आज राति अबेरसम्म भए पनि गाउँ फर्किने तयारीमा छन् । उपत्यकाभित्र पनि न्यून मात्रामा सवारीसाधन सञ्चालन छ । अघिपछि जाम हुने थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, गौशाला, कलङ्कीलगायतका चोक प्रायः खुला जस्तै रहको छ ।

यातायातका साधन कुनै पनि चोकको जाममा पर्नुपर्ने अवस्था नरहेको सवारी चालकहरुले बताएका छन् । सडकमा ट्राफिक प्रहरी न्यून मात्रामा परिचालन भएका छन् । विभिन्न क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाईसमेत निर्वाचनमा परिचालन गरिएकाले सडकमा सुरक्षाकर्मीको उपस्थिति कम छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले आज बिहान नाकाबाट बाहिर जाने यात्रुको सङ्ख्या बढी देखिए पनि क्रमशः न्यूनीकरण हुँदै गएका र घर फर्किने क्रम भने रातिसम्मै चल्ने देखिएको बताए । उनका अनुसार हिजोअस्तिको तुलनामा उपत्यकामा सवारीका चाप न्यून रहेको छ ।

कार्यालयले दिएको विवरण अनुसार बिहीबार नौ हजार ९५६ सवारी साधनमार्फत ५९ हजार ८१ यात्रु उपत्यका छाडेर गएका छन् । त्यसको अर्को दिन बुधबार बाहिरिने यात्रु ह्यात्तै बढेर ८३ हजार ६६० पुगेका छन् । उनीहरु ११ हजार २३३ गाडीमार्फत बाहिरिएका हुन् । यो तथ्याङ्क निजी सवारी र रिजर्वका सवारीसाधनबाट गएकाको गणना गरिएको छैन ।

त्यसरी जाने यात्रुको सङ्ख्या पनि ठूलो रहेको छ । आज पनि ठूलो मात्रामा मानिस बाहिरिएका प्रहरीले जनाएको छ ।

दुई लाख ६० हजार बढी सुरक्षाकर्मीले निर्वाचनको सुरक्षा

यसपटकको निर्वाचनमा दुई लाख ६० हजार सुरक्षा जनशक्तिले निर्वाचनको सुरक्षा दिँदैछन् । त्यसमा एक लाख म्यादी प्रहरी छन् । नेपाल प्रहरीका ६५ हजार बढी परिचारित छन् भने नेपाली सेनाबाट ७१ हजार सहभागी छन् । त्यस्तै सशस्त्र प्रहरीका ३२ हजार बढी परिचालित भएका छन् ।

मतदानस्थललाई तीन घेरामा सुरक्षा प्रदान गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका गृहमन्त्रालयले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल जुनसुकै मतदानस्थलमा बढीमा ३० मिनेटभित्रमा पुग्ने गरी सेनाले सुरक्षा रणनीति बनाएको जानकारी दिए ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले यसपाली आपाराधिक समूहको सक्रियता शून्य रहेकाले निर्वाचन सुरक्षा चुनौती कम रहेको तर दल र तिनका प्रतिनिधिबीच हुनसक्ने सम्भावित घटनाप्रति प्रहरी सचेत रहेको बताए ।

उनले यसपालीको निर्वाचनको माहोल शान्तिपूर्ण नै रहेको बताए । उनका अनुसार विभिन्न जिल्लामा छिटफुट घटना भएको छ । प्रहरीले मतदान केन्द्रमा १८ जनासम्म प्रहरी परिचालन गरिएको बताए । नेपालका चार सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना) ले निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गरी लागू गरेका छन् । चारै निकायले आ–आफ्नै छुट्ट छुट्टै सुरक्षा रणनीति समेत बनाएका छन् ।

ताजा खबर