भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

२०७९ बैशाख २८ बुधबार १२:३५:०० मा प्रकाशित

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान अवतरण गरेको छ बिमान अवतरण संगै यस क्षेत्रमा खुसीको तरंग पैदा भएको छ ।

जेठ २ गते लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्ती समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि सुरक्षा व्यवस्थापनका लागि सैनिक अधिकारीहरुको टोली लिएर भारतीय सेनाको विशेष विमान भैरहवा आएको हो ।

भारतीय प्रधानमन्त्री मोदीको आगमनको पूर्वतयारीका लागि बुधबार बिहान भारतीय वायु सेनाको विमानमार्फत भारतीय सैनिक अधिकारीको टोली बन्दोबस्तीका सामग्रीसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गरेको हो ।

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार भारतीय सेनाको विमानमार्फत ३० जनाको भारतीय सैनिक टोली लुम्बिनी आइपुगेको छ । भट्टराईले भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि तयारीको लागि अतिविशिष्ट पाहुनाहरुले प्रयोग गर्ने सवारी साधन र बन्दोबस्तीका सामाग्री लिएर चारदिन पहिले नै सैनिक अधिकारीहरुको टोली लुम्बिनी आइपुगेको जानकारी दिए ।

उक्त टोली अब जेठ २ गतेसम्म लुम्बिनीमै रहने छ । गत वैशाख १५ गते नेपाली वायुसेवा निगमको जहाजले परीक्षण उडान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पहिलो अन्तर्राष्ट्रिय विमान समेत यही भएको छ। विहान १० बजेतिर विमानस्थलमा अवतरण गरेका भारतीय सैनिक अधिकारीहरुलाई विमानस्थलका कर्मचारीहरुले स्वागत गरेका थिए।


 

ताजा खबर